आवरण
वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि |
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही || 22||
सुरु यहि बाट गरौं क्यारे। माथिको श्लोकको तात्पर्य हुन्छ, जसरी मानिसले आफुले धारण गरेका वस्त्रहरु परिवर्तन गर्छन त्यसरी नै आत्मले पनि मृत्युवरण पश्चात नयाँ शरीरमा प्रवेश गर्छ।
हुन त म क्याजुअल कुरा लेख्ने सोचमा छु। धेरै फर्मल पनि नबनु होला। शरीरले वस्त्र धारण गर्ने र बेला बखतमा परिवर्तन गर्ने कुरा भागवतमै उल्लेख छ। अब नितान्त शरीर र वस्त्रको कुरा गरौं भन्नाले हुलिया, अलि सभ्य भाषामा आवरण अनि यी प्रतिको व्यक्ति, समाज र भूगोलको दृस्ठिकोण । आवरण शव्द अल्लि समावेशी छ, यसको माने केवल वस्त्र भन्ने हुदैन। यसले सतही दृस्ठिकोणबाट हेर्दा समेटिने सबै कुराहरूलाई समावेश गर्छ। जस्तो कि कुनै पनि मानिसको आवरणमा उसले लगाउने वस्त्रमात्रै नभई कन उसको शरीरको बनोट र अङ्गहरुको आकार, रुप, वर्ण र स्थिति पर्न जान्छ।
अब अध्याय सुरु गरौं होला? हाम्रो समाजमा सबभन्दा पहिले कुनै पनि व्यत्ती विशेषको मुल्यांकनको पहिलो मापन सुचान्क हो आवरण । लोकल भाषामा भनौं लवाई, खवाई, हिडाई, बोलाई, चलाई आदि इत्यादी । कुनै पनि मानिसको व्यक्तित्वमा वास्तविक क्षमता, वृद्धि , विकास, सिकाइ, भोगाइ भन्दा बढी हाबी हुने कुरा हुन यी सबै। अनि समाजको एक प्रकारको बनोट, त्यो बाट जगडिएको परम्परावादी माइन्डसेट जसलाइ स्वीकार गर्न हामिलाई पनि हम्मे हम्मे पर्छ। आशा राखौं समयाक्रमानुसार यी सबै परिमार्जन हुँदै जालान, होलान या नहोलान भलै केही गन्थन गरि हालौ।
म आफ्नै कुरा गर्छु। हुर्कर्दै गर्दा मैले यस्ता कयौं अनुभव भोग्नु पर्यो बर्तमान अवस्था पनि कहिलेकाही म यस्ता मापदण्डहरुमा परिरहन्छु तर कहिल्यै कसैलाई स्पस्टिकरण दिनु आवश्यक ठान्दिन।
"यत भावो : तत भावती"
तिमी त्यो बन्छौ जो तिमी सोच्छौ। अरुले हैन। ड्याम इट। प्रायः जसो आजकल पनि मेरो लाइफ स्टाइल लाई लिएर अनेक टिप्पणी आउने गर्छन। आउछन जान्छन खोला जस्तैः तर ती पारदर्शी छन हृदय भित्र भित्र जलिरहेका बलिरहेका सबै गुण छर्लङ्ग देखिन्छन। एकातिर भर्चुअल दुनियाँ जो आजित छ, दिक्क छ, फर्स्टु छ सारा सन्सार भुलेर अँध्यारो कोठामै मोबाइल र ल्यापटपका स्कृनमा टाउको जोतिरहन्छन उनिहरु मलाइ " मिस्टर फकिर" भनी सम्बोधन गर्छन। हुन त यो म आफुले आफैंलाई सम्बोधन गर्ने शब्द हो जसको अर्थ हुन्छ हरेक श्वासमा आनन्दको नृत्यमग्न एक यायावर ( शाब्दिक अर्थमा इश्लाम धर्म समुदायको मस्तमौला) भन्ने हुन्छ। उनिहरु मेरा हरेक कदममा डाहा गरेझै गर्छन कहिलेकाही कमेन्टहरुको दोहोरी चल्छ। अनि अर्कातिर जुन म बाचेको बास्तबिक दुनियाँ ,म बाच्ने समाज, मेरा नजिकैका हितैषि, छर्छिमेक, इष्टमित्र, परिवार सबैमा कतै न कतै आपत्ती , कटाक्ष,बिमर्श, भलाकुसारी चलिरहन्छ। केवल मेरो बोक्रो लाई लिएर।
केही अध्यायहरु छन जो रोचक छन। सल्लाह जस्ता पनि छन हल्ला जस्ता पनि छन। स्वीकार्य छैनन। समाजमा बाच्ने सामान्य मान्छे लाई असामान्य बनाउन मापन, मुल्यांकन र सहि गलत छुट्याउने सुचक तत्वस्वरुप । यी कुरिती हुन वा पुर्ख्यौली संस्कृति आवरणका कथाहरु। एकपटक सुनौ, पढौ, हेरौं अनि बुझौं । कोहि मेरा आफ्ना कथाजस्ता लाग्लान त कोहि तपाईंका आफ्ना जस्ता।
अध्याय ।।१।।.
आखाको भाषा
कैद खानें हैं...बिन सालोखें के;
कुछ युँ चर्चे हें तुमारी आखो के।
आखा यस भौतिक जगतमा अस्तित्वमा रहेका हरेक प्राणीका अभिन्न अङ्ग हुन। यिनका आफ्नै रङ, बनोट र प्रकृति हुन्छन। भौगोलिक हिसाब अनुसार पनि यिनका आफ्नै बिबिधता छन। अपवाद स्वरुप मेरा आँखा खैरा छन अझ ठेट भासामा कुहिरा। म मेरा आखाहरुलाई प्रेम पुर्वक अ सेट अफ ग्रे आइज भन्छु। खास हुनुपर्ने कस्ता थिए वा हुन मलाई अझै पनि थाहा छैन। आखाको मापदण्ड के हो? यो कुनै बिवाद वा अचम्मको बिषय त हैन तर मेरो जिवनका विभिन्न कालखण्डमा यिनले मेरो मनोबिज्ञानमा गहिरो छाप पारेका छन।
५/१० बर्षको उमेरमा प्रायः आफन्त, केही छिमेकी अनि आफ्नै परिवारका सदस्यहरु बाट आइरहने एउटै कुराले मलाई हानिरहन्थियो। "यसलाई त भेटेर ल्याएको हो रे?" कारण परिवारका सदस्यहरु सबैका भन्दा केही भिन्न बनोटका आखा थिए मेरा। त्यो उमेरमा यो घटना एउटा भद्दा मजाक मात्र हुँदो हो तर बाल्यकालका केही बर्ष मेरो बालमस्तिक निकै खल्बलियो। सुन्दा सुन्दा साच्चै लाग्थियो कि मेरा आफ्नै मान्छे को हुन त उसोभए? यी कुराले बिस्तारै मेरो परिवार प्रतिको निकटता, सामिप्यता लाई घटाउदै लाग्यो। त्यो समय साच्चै यातना पुर्ण नै बित्यो। तेसको दीर्घकालीन असर अनुरुप अहिले यो उमेरमा मलाइ त्यो निकटतामा फर्किन अझै समय लागिरहेछ।
बिस्तारै हुर्किदै जाने क्रममा स्कुल लाइफमा भनौं फेरि तेस्तै प्रकृतिका घटनाहरु जोडिएर आए। कक्षा पाँचको नेपालीमा चतुरे स्यालको कथा थियो। जुन स्यालले पुरै गाउँलाई नै हैरान पारेको थियो। गाउँमा पालेका कुखुरा, हास, चल्ला, पाठापाठी सबै सोत्तर पार्ने चतुरे स्याल। नेपाली शिक्षकले मजा मज्जामै चतुरे स्यालका आँखा येस्तै थिए भनेर म तिर औंला तेर्स्याइदिनु भो। त्यसपछि मेरो नाम नै स्कुल भरी चतुरे। वा स्याल रहन गयो। स्कुले जीवन पनि तनाव पुर्ण नै रहयो। गाउँमा हुने बिबाह, बर्तबन्ध, कर्मकाण्ड, पुजा हरुमा गयो कुनै न कुनै मान्छेले मजाकको पात्र बनाउने ।
" छोरो त छ्ट्टु होला जस्तो छ।"
" उमेरमा यसले मान्छे बेचेर खान्छ।"
"चोरका जस्ता आखाले के हेरेछस?"
अल्लि बैशको भैयो। कलेजका केही बर्ष बिते। +२ सकेपछी येस्तो अवस्था आयो कि जागिर खोज्दै एक जोडि चप्पल पड्काउदै पोखराका गल्ली नाप्ने दिन सुरु भए। एउटा रोचक प्रसङ्ग छ। केही जोडि चप्पल फाटेपछी लेकसाइड स्थिति एक होटलमा कुरा मिल्ला मिल्ला झै भयो। चाहिएको एकाउन्टेन्ट, व्यवस्थापन संकायमा राम्रै अङ्क ल्याएर उतिर्ण भएको अलिकति आशा पलायो। बायोडाटा, एकेडेमीक डकुमेन्ट , अन्तर्वार्ता सबै बबाल भो। केही समय खुब कुरियो। केही समयमा म्यानेजर आए बोलाएर खुसुक्क पार्क तिर लगे। " भाइ सबै राम्रो छ, एनर्जेटिक छौ, तर एकाउन्टेन्ट हैन बरु वेटर गर्छौ भने दिन्छु। म ट्वाल्ल परे। किन भनेर प्रतिप्रश्न पनि गरे। तर निकै अनुपेक्षित उत्तर पाए। उनले भने: तिम्रा सबै कुराहरु स्ट्रङ छन। एउटै कुराले गर्दा मात्रै मलाई रिस्क लिन मन नलागेको। पैसाको कारोबार हो भाइ हेर तिमी अलिकति काचो पनि छौ उमेरले अनि अर्को कुरा मेरा बा आमाले मलाई सधै भन्नू हुन्छ "कुहिरा आँखा हुने मान्छेको भर बिश्वास हुँदैन । बचेर काम गर्नु।" वेटर गर्ने भए भोलिदेखी आउ।
एकपटक त कम्पारो नै तातेर आयो। तर झट्ट रिस उठदैन मेरो। के को रिस झन मुर्छा पर्ने गरि अट्टाहास पो छुट्यो। एकछिन सन्सार भुलेर मज्जाले हासे। लौ जा जागिर पनि चैट। एकपटक सोच्नुस न ? समाजको परिधी, निर्दोष आखा अनि कुनै व्यक्ति माथिको नैतिकताको ठुलो प्रश्नचिन्ह?
अल्लि ठूलो भैयो। लगभग किशोरावस्था पार गर्न लागियो। साथीभाइको सर्कल बढ्दै गयो। उनिहरुका केन्द्रमा पनि मेरा आखाले काम पाए। तेरो आखा त लास्ट सेक्सी छ यार। तैले एकपटक हेरे मात्रै नि सब भाषा बुज्छन केटिहरु। उनिहरुले सामाजिक संजालमा टेक्स्ट् गर्दा सिधै भन्थे: ओइ सेक्सी म्यान। उनिहरुको शब्द चयनमा इन्टेन्सन नै फरक हुन्थ्यो । कति ले सोझै भन्थे : हेर्न साले बोका यसको भाउ बढेको।
झुर अनुभुतीका केही स्याम्पल हरु हुन यी भोगाइहरु। यी सबै बाट प्रष्ट छ मेरो समाजको एना। मानिसले बनाएका आ-आफ्ना दृस्ठिकोणका तहहरु। केही मिठा अनुभवहरु पनि छन। मिठा टिप्पणीहरु पनि छन मैले सुन्न पाएका जस्ता कि: " कलाकारमा हुनुपर्ने गुण भएका आँखा छन तिम्रा। हेर्दै स्टोर्ङ कन्फिडेन्स भएका जस्ता।" हुन पनि केही थान प्रेमपत्र पनि पाइयो जिवनमा, बलपूर्वक आँखा जुधाइ खेलियो केही उमेरमा खैर राम्रा हुन वा नराम्रा कती सतही धारण बनाउछौ हामी कुनै मानिस प्रती उसको बाहिरी आवरण बाटनै। हामिले गर्ने जजमेन्ट बाट कोहि बाल मस्तिष्क पिडित छ, केहि किशोर मनोबिज्ञान खल्बलिएको छ, केही यौवन मन हरु प्रती नैतिक प्रश्न उठेका छन?
के यी सबै जायज छन?
के यी नै हुन समाजले बनाएका आवरणका मापदण्ड ?
यो यौटा प्रतिनिधि अध्याय मात्र हो अरु पनि छन तेस्ता कयौं अध्याय , कपालको कथा, लगाउने कपडा वस्त्रको कथा, माला र बालाको कथा, ट्याटुको कथा, रुचि को कथा पुरै लाइफ स्टाइलको कथा।
अब पहिले तपाइँका कुरा/ प्रतिक्रिया सुनौ अनि अरु कथा अर्को अध्यायमा लेख्ने छु।
इति श्री ।।